सुपर आठ अन्तर्गतको दोस्रो खेलमा अमेरिकामाथि वेस्ट इन्डिज ९ विकेटले विजयी


काठमाडौं, असार ८ । टी–२० विश्वकप २०२४ को सुपर ८ अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।

अमेरिकाले दिएको १२९ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।

वेस्ट इन्डिजका ओपनर शाही होपले ३९ बलमा ८ छक्का र ४ चौका हानेर ८२ रनको अविजित इनिङ्स खेल्दै सहज जित हात पारे ।

अर्का ओपनर जोन्सन चार्ल्स १५ रन बनाएर आउट भए भने निकोलस पुनर एक छक्का र एक चौका सहित २७ रनमा अविजित रहे ।

अमेरिकाका हरमीत सिंहले एक विकेट लिए ।

यसअघि ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभरमा १२८ रन बनाएको थियो ।

अमेरिकाका एन्ड्रिस गसले २९ रन, नितिश कुमारले २० रन, मिलिन्द कुमारले १९ रन, शाडले भान स्याल्वेकले १८ रन, अली खानले १४ रन र ब्यारोन जोन्सले ११ रनको योगदान दिए ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले तीन–तीन, अल्जारी जोसेफले दुई र गुडाकेश मोतीले एक विकेट लिए ।

सुपर–८ को पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्याण्डसँग पराजित भएको थियो भने अमेरिका साउथ अफ्रिकासँग पराजित भएको हो ।

अमेरिकाको यो दोस्रो हार हो । योसँगै अमेरिकाको अघिल्लो चरणको सम्भावना पनि समाप्त भएको छ ।

समूह २ मा साउथ अफ्रिका २ खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ भने एकरएक खेल जितेर २-२ अंक जोडेको वेस्ट इन्डिज र इंग्ल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

वेस्ट इन्डिजले साउथ अफ्रिका र इंग्ल्याण्डले अमेरिकासँग खेल्नेछ । दुवैले जित्यो भने नेट रन रेटका आधारमा अगाडि रहेका दुई टोलीले अघिल्लो चरणमा प्रवेश पाउनेछन् ।  (onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको