डेल्टा मार्टमा पाँच घण्टा आगलागीपछि नियन्त्रणमा, “४० करोड बढी क्षति अनुमान”


बुटवल, असार ७ । बुटवल मिलनचोकस्थित डेल्टा एजसकेसन मार्टमा बिहीबार लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ ।

फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट सुरु भएको आगो निभाउन बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीबाट १० वटा दमकल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले जानकारी दिए ।

साँझ ७ बजेतिर लागेको आगो मध्यरातमा नियन्त्रणमा आएको थियो ।

मार्टको तेस्रो तल्लामा कापी, किताबसहित स्टेशनरी र खेलकुदका सामान, दोस्रो तल्लामा विद्यालय तथा कलेजका विद्यार्थीहरूका लत्ताकपडा र पहिरनका लागि तयारी पोशाक र भुइँ तल्लामा नेपाली कम्पनीका जुत्ता र ग्रोसरी सामान राखिएको थियो । प्रहरीका अनुसार आगलागीबाट भुइँमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।

१० वटा दमकलसँगै नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगलागी अन्यत्र फैलिनबाट राति नै नियन्त्रणमा आएपनि मार्टको भुईं तलाको आगो भने बिहान ७ बजेसम्म दुई वटा दमकलले निभाइरहेका डीएसपी भट्टले बताए । मार्ट नजिकैको बाक्लो बस्ती र नजिकैको पेट्रोल पम्प भएकाले आगो बस्तीमा फैलिने डर स्थानीयवासीमा थियो ।

मार्ट सञ्चालकले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरेपनि आगोको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

६ वर्षअघि बुटवलका ठूला निजी तथा सरकारी विद्यालयका सञ्चालक तथा शिक्षकको लगानीमा सबै प्रकारका शैक्षिक सामग्री र विद्यार्थीको पोशाक एकै ठाउँमा बिक्री गर्ने उद्देश्यले मार्ट सञ्चालनमा आएको थियो ।

विद्यालय व्यवस्थापन र प्रधानाध्यापकको लगानीमा मार्ट सञ्चालनमा आएपछि मार्टका कारण विस्थापित हुने अवस्था आएपछि साना पुस्तक तथा स्टेशनरी व्यवसायी र साना सिलाई व्यवसायीले आन्दोलन गर्न थालेका हुन् ।

करिब ४० करोडको क्षति भएको मार्ट सञ्चालकले जानकारी दिए पनि डिएसपी भट्टले क्षतिको यकिन नरहेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको