वीरगञ्ज (पर्सा), जेठ १८ । बिहीबारको वर्षा र हावाहुरीका कारण एक सय ७ वर्षीय वृद्धको मृत्यु भएको छ । हावाहुरीले ल्याएको छिमेकीको घरको फलामको जस्ताले लागेर विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको मृत्यु भएको छ । घरमै बसिरहेका बेला धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताएका छन् ।
हावाहुरीका कारण पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर भत्किँदा एकजना घाइते भएका छन् ।
घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो रहेका छन् । उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भई हाल डिस्चार्ज गरिएको छ ।
हावाहुरीका कारण सोही गाउँमा चार बाख्रा पनि मरेका छन् । हावाहुरीले पर्साको प्रहरी चौकीको छाना पनि उडाएको छ । हावाहुरीबाट जिल्लामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।










