काठमाडौँ, जेठ २ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५/८६ सम्ममा प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने १६ औं आवधिक योजना सार्वजनिक गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको उक्त योजनालाई राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गर्दै प्रतिव्यक्ति आय वृद्धि हुने जनाएको छ ।
आयोगले आर्थिक वर्ष २०८५/७६ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुर्याउने लक्ष्य पनि लिएको छ ।
२०८५/८६ मा १६औँ योजनाले नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । त्यसैगरी आयोगले गरिबीको रेखामुनि रहेका जनतालाई १२ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
१६औँ योजनाले मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य राखेको छ । १६औँ योजनाको लक्ष्य बेरोजगारी दरलाई ५ प्रतिशतमा सीमित गर्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको छ ।
यस्तै विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पुर्याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य लिएको छ ।
१६औँ योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान सार्वजनिक भइसकेको छ ।
१६औँ योजनाले २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६ प्रतिशत, २०८३/८४ मा ७.४ प्रतिशत, २०८४/८५ मा ७.९ प्रतिशत र २०८५/८६ मा ७.२ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य राखेको छ ।



















