इलाम, चैत २४ गते ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रबाट कडाइ गर्न निर्देशन दिएका छन् । सभापति देउवाले मुलुकको राजनीतिक अस्थिरता औँल्याउँदै आगामी निर्वाचनमा कांग्रेस एक्लै बहुमत ल्याउने दल बनाउन अपरिहार्य भएको बताए ।
पार्टीका काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि पार्टीका नेताहरुलाई सचेत गराए। घात, अन्तर्घात नगरेर एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको सभापति देउवाको भनाइ थियो।
उनले भने, ‘अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नुछैन, तपाईहरुलाई थाहा नै छ। तर अहिले यही कुरालाई ध्यानमा राखेर, मध्यनजर गरेर एक्लै जित्न सक्ने पार्टी बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ। त्यसैले यो ऐतिहासिक ठाउँ हो।
ऐतिहासिक रुपको सहर भएको ठाउँ पनि हो। त्यसैले म सबै साथीहरुलाई पार्टीलाई एक बनाएर लगेर आपसमा घात, अन्तरघात नगरेर एक भएर यो पार्टीलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनुपरेको छ हामीलाई। तसर्थ, म हामी सबै साथीहरूको लाग्दै बहुमत ल्याउनका लागि प्रयास मात्रै होइन, कम्मर कसेर पूरा गर्नका लागि हार्दिक अनुरोध गर्दछु।’
सभापति देउवाले पनि पार्टीलाई मजबुत बनाउने काममा स्थानीय तहका कार्यकर्ताहरुलाई बुझेर काम गर्नुपर्ने बताए ।
(थाहा खबर)











