दाङ, माघ १० गते ।
पूर्वजन्ममुक्ति सेनाका ब्रिगेड कमाण्डर जीतमान पुन ‘मार्सल’ पक्राउ परेका छन् ।
उनलाई प्रहरीले माघ ७ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका उनलाई प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका छन्।
भट्टराईले पुनलाई ‘जनयुद्ध’ मुद्दामा पक्राउ परेको दाबी गर्दै विरोध गरेका हुन्।
‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्सल’लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ। हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं,’ भट्टराईले बुधबार सामाजिक सञ्जाल एक्समा लेखेका थिए।
प्रहरीले पुनलाई भने ‘जनयुद्धकालीनु मुद्दामा नभई लागूऔषध मुद्दामा पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपी रामबहादुर केसीले लागुऔषध ओसारपसार मुद्दामा फैसला कार्यान्वयनका लागि पुनलाई पक्राउ गरिएको सेतोपाटीले जानकारी दिए ।
दाङ जिल्ला अदालतले २०७२ सालमा लागुऔषध चरेश ओसारपसार मुद्दामा उनलाई दोषी ठहर गर्दै कैद र जरिवाना गरेको उनले बताए ।
उनका अनुसार यो घटना २०५२ सालको हो । उनीविरूद्ध दुई वर्ष ६ महिना कैद र २० हजार जरिवाना तोकिएको छ ।
श्रोत सेतोपाटी









