काठमाडौं, माघ ७ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्नता र त्यसका सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्त भएको बताउनुभएको छ ।
अफ्रिकी मुलुक युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी भई काठमाडौं फर्किएपछि आइतबार अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले असंलग्नतामा आधारित अन्तर्राष्ट्रिय रूपमा जटिल परिस्थितिका बाबजुद पनि नेपालले सबै परिस्थितिमा मौलिक दृष्टिकोणसहितको साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिरहेको बताउनुभयो ।
इण्डोनेसियाको सन् १९५५ मा बाङ्दुङमा सम्पन्न एसिया-अफ्रिका सम्मेलनले विकासशील र विकासोन्मुख देशहरू रहेको असंलग्न आन्दोलन पारित गरेको थियो ।
श्रोत सेतोपाटी











