काठमाडौं, माघ ४ गते ।
पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणाले हतारमा प्रहरी समायोजन नगर्न आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर १५ दिनभित्र जसरी पनि प्रहरी समायोजन गर्न निर्देशन दिएको विषय कोट्याउँदै राणाले सरकारलाई सुझाव दिए ।
सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले लेखेका छन्, ‘प्रदेशका मुख्यमन्त्रीको दबाब सहन नसकेपछि प्रधानमन्त्रीले १५ दिनभित्र प्रदेशमा प्रहरी कर्मचारीहरूलाई समायोजन गर्न निर्देशन दिएको सञ्चार माध्यमबाट आएको हो । अहिले समायोजन हुन थालेपछि ठूलो संख्यामा प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकको वृत्ति विकासमा नराम्रो असर पर्ने सुनिश्चित छ ।
प्रदेश प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी केन्द्रको मातहतमा रहेने भए पछि जिल्लाको शान्ति सुरक्षाको जिम्मा कसले लिने भन्ने अन्योल रहेको राणाले बताए । आफ्नो टिप्पणीमा उनले लेखेका छन्, ‘हतारमा समायोजन गरेर पछि पछुताउनुभन्दा यस विषयमा पूर्व मुख्यसचिव लीलामणि पौडेलजीको संयोजकत्वमा गठित समितिले पनि यस सम्बन्धमा काम गरिरहेकोले केही समय पर्खनु उपयुक्त हुन्छ ।
श्रोत रातोपाटी



















