काठमाडौं, पुस २९ गते ।
प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन् ।
उनले आइतबार युनिभर्सिटी क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा १०३ बलमा १०१ रन बनाएका थिए । उनले ५ छक्का र ६ चौकाको मद्दतले शतक बनाए ।
टस जितेर बागमतीले फिल्डिङ रोजे पछि एपीएफले ब्याटिङ गरेको थियो । सुरुमा ४१ रन बनाएर ५ विकेट गुमाउने एपीएफका लागि पाँचौं नम्बरमा आएका सन्दीपले लोकेश बमसँग ६१ रनको अर्धशतक साझेदारी गर्दै एपीएफलाई १०७ रनमा पुर्याएका थिए ।
त्यसैगरी भुवन कार्की र अमर रौतेलासँग साझेदारी गर्दै एपीएफलाई २०० भन्दा बढीको स्कोरमा पुर्याए । सन्दीपले शतक प्रहार गर्दा ४६ ओभरमा ८ विकेट गुमाउँदै एपीएफले २१६ रन बनाएको छ । सन्दीप यस वर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका राशिद खानले पनि शतक बनाएका थिए ।
श्रोत onlinekhabar









