काठमाडौं, पुस १८ गते ।
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताअन्तर्गत अहिले फाइनल खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबीच भइरहेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ क्लबले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । बर्माले ६ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै ज्योति पाण्डेले २७ रन र रोमा थापाले १४ रन जोडिन् ।
कोशीका लागि अप्सरी बेगमले २० औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएर बलिङतर्फ ह्याट्रिक गरिन् । बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा र तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् । त्यस्तै, इलिशा खाडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिइन् ।
अहिले कोशी प्रदेशले ब्याटिङ गरिरहेको छ । कोशीले ९ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएको छ । कोशीले अप्सरी बेगमको रुपमा पहिलो विकेट गुमाएकी थिइन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
श्रोत रासस











