काठमाडौँ, पुस ९ गते ।
जाजरकोट भूकम्पबाट लाभग्राहीको संख्या बढेको छ । विवरण सङ्कलन प्रक्रिया जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लाभग्राहीको संख्या ६७ हजार ७८० पुगेको छ । अझै थपिने क्रम जारी छ । यसअघि ५९ हजारभन्दा बढी लाभग्राही कायम भएपनि पछिल्लो अपडेटमा झण्डै ९ हजार थपिएका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यो संख्या ८० हजार पुग्ने अनुमान गरिएको र सोही अनुसार तयारी भइरहेको जानकारी दिनुभयो । सुरुमा २८ हजार लाभार्थी स्थापना भएका थिए । त्यसपछि चार हजार थपेर ३२ हजार पुग्यो । बढ्दै जाँदा ५९ हजारमा रहेपनि अहिले ६७ हजार नाघेको छ ।
प्राप्त जानकारी अनुसार जिल्लामा ३५ हजार १ सय ४०, रुकुम पश्चिममा २३ हजार ६०८, सल्यानमा १ हजार ७३०, बझाङमा ४ हजार ५ सय ७६ र बाजुरामा २ हजार ७२९ लाभग्राही रहेको प्राधिकरणको नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले जानकारी दिए । लाभग्राहीको सङ्ख्या बढ्दै जाँदा उनीहरूका लागि पुनर्स्थापना र अस्थायी आवास निर्माणको लागत पनि बढ्नेछ । ती लाभग्राहीका लागि अस्थायी आवास निर्माणका लागि हालसम्म दुई अर्ब २६ करोड रुपैयाँभन्दा बढी केन्द्रबाट जिल्लामा पठाइएको छ । लाभार्थीको संख्या बढ्न सक्ने भएकाले लाभग्राहीको अनुमानित सङ्ख्याका आधारमा रु.४ अर्ब ७५ करोड आवश्यक पर्ने भएकाले थप रकम माग गर्न पहल भइरहेको प्राधिकरणले जनाएको छ ।
जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको मंसिर १ गते गएको भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पुर्याएको थियो । अहिले सो क्षेत्रका पीडितका लागि अस्थायी आवास निर्माणको काम भइरहेको छ ।
श्रोत रासस











