काठमाडौँ (रासस), मङ्सिर २६ गते।
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले भारतविरुद्ध जितको साझा लक्ष्य प्रस्तुत गरेको छ । नेपालले भारतलाई जितका लागि ५३ रनको मामूली लक्ष्य दिएको छ ।
युएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको हो । खेलको सुरुदेखि नै नेपालले भारतविरुद्ध निकै दबाबमा ब्याटिङ गरेको थियो । नेपालका कुनै पनि खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन् । नेपालले २२।१ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनायो। नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि हेमन्त धामीले आठ, दीपक बोहराले सात, दिपेश कँडेलले चार र आकाश चन्दले अविजित चार रन बनाए ।
भारतका राज लिम्बानीले सात विकेट लिएर नेपाली इनिङ्सलाई न्यून स्कोरमा राखेका थिए । उनले ९।१ ओभर बलिङ गरे, तीन मेडन राखे र १३ रन मात्र खर्च गरे। त्यस्तै आराध्या शुक्लाले दुई र अर्सिन कुलकर्णीले एक विकेट लिए । अहिले भरतलले जवाफी ब्याटिङ गरिरहेको छ ।











