गलेश्वर (रासस), मङ्सिर २६ गते।
बालाचतुर्दशीको दिन सोमबार बागलुङको काठेखोला–४ तनग्रामबाट गलेश्वर आएकी अमृता आफूले ल्याएका सामान बेच्न नपाउँदा चिन्तित भएकी छन् । पुन मात्रै होइन, बागलुङको बडिगाड गाउँपालिकाका धनबहादुर बुढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ का तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाई पनि बिक्री नभएपछि ल्याएका सामान लिएर गाउँ फर्किनुभयो ।
म्याग्दीको गलेश्वरमा शताविज दर्शन गर्न आएका भक्तजनलाई बेलचा, भाँडा र ठेक्का बिक्री गर्ने उद्देश्यले हस्तकलाका सामग्री बोकेर उनीहरु गलेश्वर आएका हुन् । बालाचतुर्दशीमा लाग्ने गलेश्वर मेलामा पछिल्लो दशकसम्म दला, नाङ्ला, थेकाठेकी, भाकरी र ठुन्सेमा व्यापार हुने गरेको छ । सस्तो प्लास्टिक र स्टिलका सामानको प्रयोग बढ्दै गएकाले बाँस र नाइजेलाबाट बनेका सामानको बिक्री घट्दै गएको हस्तकलाका सामग्री व्यापारी अमृता पुनले बताउनुभयो ।











