सिटीहलको ५५ प्रतिशत काम


भरतपुर (चितवन), मङ्सिर १५ गते।

चितवनमा निर्माणाधीन सिटीहलको ५५ प्रतिशत काम सम्पन्न भएको छ। निर्माण सुरु भएको तीन वर्षसम्ममा ५५ प्रतिशत मात्र काम भएको हो।

सिटी हलको पहिलोपटक थपिएको म्याद आगामी फागुन मसान्तमा सकिँदै छ। निर्माण २७ महिनामा सक्ने गरी निर्माणको जिम्मा इन्डो–सगुन–रौताहा जेभीले पाएको थियो। निर्माण कम्पनीले कोरोनालगायतका कारणले काममा ढिलाइ भएको जनाएको छ।

सिटीहलको मुख्य संरचनाको ट्रसका लागि फलामे पाइप भारतबाट आइसकेकाले अब निर्माणले गति लिने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले बताउनुभयो। उहाँका अनुसार तीन महिनाअगाडि भारतबाट मगाइएको ट्रसका लागि फलामे पाइप मङ्गलबारमात्रै यहाँ आइपुगेको हो।

ट्रस हाल्न करिब तीन महिना लाग्ने थापाले बताउनुभयो। “ट्रसका लागि भारतबाट मगाइएको पाइप आइपुगेको छ”, उहाँले भन्नुभयो, “केही आउने क्रममा छ। पाइपमाथि जोडिने पाता नेपालमै उत्पादन हुन्छ। अब धमाधम काम हुन्छ।”

भरतपुर महानगरपालिका–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण हुँदैछ। सिटी हलमा दुई हजार मानिस अट्न सक्ने क्षमताको मुख्य हल र तीन सय मानिस अट्ने क्षमताको अर्को हल हुनेछ।

हलको निर्माण लागत रू ८७ करोड ८८ लाख ८८ हजार आठ सय ८८ रहेको आयोजनाका प्रमुख थापाले जानकारी दिनुभयो। उहाँका अनुसार हलमा पर्याप्त पार्किङको व्यवस्था गरिने छ। सिटी हल बनेपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुने जनाइएको छ। सिटी हलको विसं २०७७ माघ १७ गते शिलान्यास गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको