काठमाडौँ, कात्तिक २२ गते।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था तथा पत्रकारलाई नेपाल पत्रकार महासङ्घले राहत उपलब्ध गराउने भएको छ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घले वैदेशिक शाखा र अन्य सङ्घ संस्थामार्फत राहत सङ्कलनका लागि पहल गर्ने जनाएको छ। भूकम्पले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको असर र श्रमजीवी पत्रकारको पक्षमा गरिएको आन्दोलनका विषयमा पनि छलफल भएको महासङ्घका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिनुभयो। पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र बनाउन महासङ्घले प्रयास गरिरहेको उहाँको भनाइ थियो।
अध्यक्ष पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले महासङ्घलाई विभिन्न आरोप लगाउनु भन्दा गैरकानुनी ढङ्गबाट निष्कासित गरिएका पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन आग्रह गर्नुभयो।
महासङ्घका महासचिव रोशन पुरीले सङ्कलित राहत महासङ्घको केन्द्रीय समितिका पदाधिकारी, सदस्य तथा प्रदेश र जिल्ला समितिका पदाधिकारीबाट सङ्कलन गरेर प्रभावित क्षेत्रका सञ्चार संस्था र पत्रकारको विवरणका आधारमा वितरण गरिने बताउनुभयो। उहाँले भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरुपमा क्षति भएको जनाउँदै महासंघका दुई जना केन्द्रीय सदस्यसहित दर्जनौं पत्रकारले बास गुमाएका बताउनुभयो।



















