चितवन, कात्तिक २२ गते।
तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरुमा अनुगमन गरेको छ। गृहमन्त्रालयको परिपत्र अनुसार कार्यालयले बजारमा रहेका ठूला व्यवसायीको गोदाममा अनुगमन गरेको हो।
कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कार्यालयले जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढमा रहेका १४ गोदामको अनुगमन गरेको छ। अनुगमनका क्रममा बजारमा चिनीको अभाव नरहेको पाइएको उहाँले बताउनुभयो।
“अन्य जिल्लामा जस्तो यहाँ चिनीको अभाव छैन”, शर्माले भन्नुभयो, “बजारमा खाद्य वस्तुमा लेबल र उत्पादन मितिसँगै बिक्री मूल्यसमेत टाँसी सामान बिक्रीका लागि राखिएको छ।” उहाँका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष बजारमा सुधार आएको छ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजारमा रहेका ठूला गोदामको अनुगमन गरेको थियो। जिल्लामा आवश्यक पर्ने चिनी रहेको भेटिएकाले अहिले खासै समस्या नहुने किराना व्यवसायी सङ्घ चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पहिलाको जस्तो खपत नहुने अनुमान गरेका छौँ। अहिलेसम्म त्यस्तो समस्या आएको छैन।”
पसलेले सङ्घले तोकेको मूल्यमा बिक्री गरिरहेका पौडेलले जानकारी दिनुभयो। दसैँको समयमा जिल्लामा चिनीको केही अभाव भए पनि दसैँपछि बिस्तारै सहज हुँदै गएको उहाँले बताउनुभयो। तिहारमा बढी मात्रामा मिठाई बनाइने हुँदा चिनीको खपत बढी हुने गर्दछ।



















