टीकापुर (कैलाली), कात्तिक २२ गते।
कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ। सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले सञ्चालन गरेको गौशालाले नौ हजार दीपावली दियो र एक हजार पाँच सय रङ्गोली दियो उत्पादन गरेर बिक्री थालेको हो।
उत्पादन भएका दियो बजारका पसल तथा स्थानीयले माग गरिरहेका समितिका सचिव द्वारिकाप्रसाद जोशीले जानकारी दिनुभयो। “विदेशमा रहेका नेपालीले आ–आफ्नो घरमा पु¥याइदिन माग गरिरहनुभएको छ। हामीले घरमै पु¥याउने गरेका छौँ”, उहाँले भन्नुभयो, “बजारमा पनि यसको माग उच्च छ। आजबाट हामीले बिक्री थालेका छौँ।”
उत्पादित सामग्रीमा ५० प्रतिशतसम्म नाफा रहेको जोशीले बताउनुभयो। उहाँका अनुसार गौशालामा भगवान्का मूर्ति, धूपबत्ती, शुभलाभ, लक्ष्मीका पाइलासमेत बिक्रीका लागि राखिएका छन्।
समितिका सदस्यले तालिम लिएर गाईको संरक्षण गर्ने तथा आम्दानी पनि गर्ने उद्देश्यले गोबरबाट यी सामग्री उत्पादन थालेका जोशीले बताउनुभयो। “गौशालाका केही सदस्य गाईको गोबरबाट धूपबत्ती र गोबरका विभिन्न सामग्री निर्माणबारे भारतको काशिपुर गएर तालिम लिएर आएका हुन्। यसका साथै गोबरको मल बिक्रीसमेत गर्ने गरिएको छ”, उहाँले भन्नुभयो।
गौशालाले योसँगै नम्बरप्लेट, शुभलाभका चित्र, भगवान्का मूर्ति, प्रमाणपत्रलगायत सामग्री निर्माण थालेको छ। साथै गाई संरक्षणका लागि टीकापुरमा श्रीमद्भागवत् महायज्ञ गर्न तयारीसमेत भइरहेको गौशालाका सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार मङ्सिरमा महायज्ञ सञ्चालनका लागि विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल भइरहेको छ।
“गाई संरक्षणमा हामी जागेका छौँ। गाई पाल्नका लागि स्थानीयस्तरमै आम्दानीका स्रोतको खोजी गरी आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि काम गरिरहेका छौँ”, न्यौपानेले भन्नुभयो, “यसमा सबैको साथ र सहयोग हुनुपर्छ । गाई संरक्षणका लागि आर्थिक जोहो गर्न महायज्ञ गर्न थालिएको हो।”
समितिले गाई संरक्षणका लागि गरेका कार्यले सबैलाई सहज हुनाका साथै किसानलाई बढी लाभ भएको स्थानीय बताउँछन्। गाई संरक्षणका साथै विभिन्न सामग्री उत्पादन गरेर युवाले गरिरहेका कार्यमा सबैको साथ आवश्यक रहेको स्थानीय शेरबहादुर विष्टको भनाइ थियो। सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले अहिले सात सयभन्दा बढी गाई संरक्षण गरिरहेको छ।









