इनरुवा (सुनसरी), कात्तिक १८ गते।
जिल्लाको सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकार बिहानैदेखि कोई माटो मुस्छन् त कोई माटोका भाँडा बनाउने काममा व्यस्त हुन्छन्। चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहजरुपमा उपलब्ध गराउने उनीहरूको उद्देश्य हो।
इनरुवा, लौकही, हरिपुरलगायत स्थानका कुम्भकारले दिपावली तथा छठलाई लक्षित गरी माटोका भाँडा बनाउन थालेका स्थानीय श्रीप्रसाद पण्डितले बताउनुभयो। उहाँका अनुसार चाडपर्वलाई लक्षित गरी माटोका घैला, दियो, पालासहितका विभिन्न भाँडाकुँडा बनाउने काममा व्यस्त बनेका छन्। भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने भएकाले दुई हप्ता अगाडिदेखि नै माटोको जोहो गर्नुपर्ने उहाँको भनाइ थियो।
एक महिना अघिसम्म विभिन्न समस्याले माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो भएको स्थानीय देवनारायण पण्डितले बताउनुभयो। नजिकमा माटो नपाइने भएकाले टाढाबाट किनेर ल्याइएको बताउँदै अहिले भाँडा, पाला तथा अन्य सामग्री बनाउन हतार भइरहेको उहाँको भनाइ थियो।
दिपावली तथा छठ पर्वमा चौमुखे दियो, पाला, कलशालगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले सामान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितले बताउनुभयो। पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांशको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले अहिले यो काममा बढी व्यस्त भएको उहाँले बताउनुभयो।
पर्वलाई लक्षित गरी केही दिन अघिदेखि भाँडा बनाउन थालिएको बताउँदै समय कम भएकाले बजारको माग पूरा गर्न निकै चुनौती रहेको कुम्भकार समुदायका नेता ज्ञानदेव पण्डितले बताउनुभयो। कुमाले समुदायको पेसालाई सरकारले संरक्षण गर्नका लागि ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।



















