काठमाडौँ, कात्तिक १८ गते।
अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा सरकारका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गरिरहेको बताउनुभएको छ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उहाँले गएरातिदेखि नै भूकम्पपीडितको राहत र उद्धारमा तीनै तहका सरकारअन्तर्गत सबै संयन्त्रहरु परिचालित भइरहेको जानकारी दिनुभयो।
भूकम्पबाट पश्चिम नेपालको खासगरी रुकुम र जाजरकोट जिल्लामा ठूलो जनधनको क्षति भएको विवरणहरु प्राप्त भइरहेको जनाउँदै अर्थमन्त्री डा महतले यस विपत्तिको घडीमा सबै पक्षबाट सहयोगका लागि अपिल गर्नुभयो। उहाँले भूकम्पबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदन प्रकट गर्नुभयो।
अर्थमन्त्री डा महतले प्राकृतिक विपत्तिका घटनाको दीर्घकालीन समाधान र तयारीका निम्ति आवश्यक कार्य गर्न जरुरी भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्पपीडितको राहतका लागि महासङ्घले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि भूकम्प प्रभावित क्षेत्रमा आर्थिक सहयोग गर्ने बताउनुभयो।



















