कैदीबन्दी मृत्यु प्रकरण : १० प्रहरी पनि अनुसन्धानमा तानिए


दीपेन्द्र शाक्य

संखुवासभा , साउन २६ गते ।

जिल्ला कारागार संखुवासभामा कुटपिटबाट दुई जना कैदीको मृत्यु भएको घटनामा प्रहरीले १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसनधान सुरु गरेको छ । घटनापछि प्रहरीले ९ जना कैदीलाई बुधबार पक्राउ गरिसकेको थियो ।

कारागारमा कार्यरत प्रहरी र कैदीबन्दी १९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । गत बुधबार कुटपिटबाट कैदीबन्दी संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।

सोही घटनालाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको हो । नियन्त्रणमा लिइएका प्रहरी र कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन ।

कारागारमा रहेको सिसिटिभी फुटेजको आधारमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको छ । फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी वीरेन्द्र गोदारले बताए ।

पीडित पक्षको किटानी जाहेरीको आधारमा म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने उनले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित ९ जना कैदीबन्दी संलग्न भएको देखिएको छ ।

‘कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित ९ जना कैदीलाई हिरासतमा राखेको छ,’ उनले भने, ‘उक्त घटना कारागारको ए ब्लकमा भएको थियो । ए ब्लकमा ६६ जना कैदीबन्दी बस्थे ।’

घटनामा प्रहरीको समेत संलग्नता देखिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कडेलको नेतृत्वमा आएको ४ सदस्यीय छानबिन समितिले पनि बिहीबारबाट अनुसन्धान सुरु गरिसकेको छ ।

घटनापछि जिल्ला सुरक्षा समिति संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे नेतृत्वको टोलीले पनि आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ । २५ जना क्षमताको संखुवासभा कारागारमा अहिले आठ महिलासहित एक सय ३६ जना कैदीबन्दी छन् ।

यो पनि…

कैदीको शंकास्पद मृत्यु भएको घटना छानबिन गर्न , अर्को छानबिन समिति


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको