दीपेन्द्र शाक्य
संखुवासभा , साउन २६ गते ।
सुरक्षा घेराभित्र दुई कैदीको शंकास्पद मृत्यु भएको घटना छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले बिहीबारबाट काम थालेको छ ।
उक्त कार्यालयका एसपी ऋषिराम कँडेलको नेतृत्वको ४ सदस्यीय समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, सई रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई छन् । दोषीलाई कानुनी दायरामा ल्याउने गरी अनुसन्धान हुने एसपी कँडेलले बताए ।
प्रहरीकै प्रत्यक्ष संलग्नतामा घटना भएको आरोप लागेपछि जिल्लामा गठन भएको समितिलाई बल पुग्ने गरी प्रहरीका तर्फबाट अलग्गै समिति बनाइएको हो । जिल्ला सुरक्षा समिति संखुवासभाले पनि बुधबार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ । समितिमा प्रहरी निरीक्षक सरोज खनाल र प्रशासन कार्यालयका नायब सुब्बा तारणी घिमिरे सदस्य
छन् । यो समितिले पनि काम सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । उनले भने, ‘प्रहरी, कारागार प्रशासनका कर्मचारी संलग्न छन् भने पनि अनुसन्धान गरेर कारबाही गर्छौं ।’ १० दिनभित्र यथार्थ बाहिर ल्याउने उनले बताए ।
कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरू संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कारागारभित्र राखेको केहीबेरमा कैदीबन्दीबीच कुटपिट हुँदा मृत्यु भएको प्रहरीको दाबी छ । अदालतले जबर्जस्ती करणी मुद्दामा तोलांगीलाई १८ वर्ष र चोरी मुद्दामा बलामीलाई ३ वर्ष कैद सजाय फैसला गरेको थियो । उनीहरू १ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका थिए ।
मृतक कैदीबन्दीका आफन्तले निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याएर दोषीलाई कारबाहीको माग गरेका छन् । घटनामा प्रहरीको पनि मिलेमतो भएको उनीहरूले आशंका व्यक्त गरेका छन् ।
मृतककी दिदी भीमा रम्तेलले सुरक्षा घेराभित्र रहेकाको ‘हत्या’ हुँदा प्रहरी प्रशासन मौन बसेको आरोप लगाइन् । उनले यथार्थ बाहिर नआउन्जेल शव नउठाउने बताइन् । प्रहरीले सीसीटीभी क्यामेरा फुटेज अझै बाहिर नल्याएकामा उनले शंका व्यक्त गरेकी छन् ।
घटनापछि प्रहरीले ९ कैदीबन्दीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राखेको जनाएको छ । २५ जना क्षमताको कारागारमा १ सय ३६ कैदीबन्दी छन् ।
संखुवासभाका ७ राजनीतिक दलले घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । विभिन्न कोणबाट छानबिन गरेर घटनाको कारण र दोषी पत्ता लगाउन तथा संलग्न कसैलाई संरक्षण नगर्न दलहरूले आग्रह गरेका छन् ।









