जनकपुरधाम, साउन २२ गते ।
मिटरब्याजी बनेर एक व्यापारीलाई ठगी गर्न खोज्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बस्ने बिनय कुमार दासको छोरा बर्ष ४३ को दिपेन्द्र कुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई ठगी मुद्दामा अनुसन्धानको लागि पक्राउ गरेको हो ।
धनुषाको महेन्द्रनगरस्थित आईसा सेल्स ट्रेडिँग प्रा.लि. का सँचालक धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुर बस्ने श्याम सुन्दर महतोले दाससँग ३ करोड ४० लाख रुपैयाँ लिएकोमा उनले मिटरब्याजको नाममा ठगी गर्न खोजेपछि पक्राउ गरिएको हो ।
दासले बैँक ग्यारेन्टीको नाममा महतोसँग बैँक चेक लिएको बताईएको छ । महतोले दिएको जाहेरीमा ग्यारेन्टी वापत दिएको ४ वटा खाली चेक राखेर रकम बुझेपनि फिर्ता नदिएपछि उनले ठगीको मुद्दा दिन बाध्य भएको हो । दाससँग लिएको रकमको ब्याजसहित पटक पटक गरी सबै रकम तिरिदिएको बैँक स्टेटमेन्टर भौचर समेत महतोसँग रहेको छ ।
दासले महतोलाई दिएको रकम ब्याजसहित पाएको जाहेरीमा उल्लेख छ । उनले रकम पाएपनि चेक फिर्ता गर्नको लागि भन्दा थप रकमको लागि दबाब दिँदै चेक समेत फिर्ता नगरेपछि मुद्दा हालिएको हो ।
दासले रकम प्राप्त गरिसकेपछि पनि महतोसँग ब्याज भन्दै थप रकम मागेको बताईएको छ । सम्झौता अनुसार उनले पाउनुपर्ने रकम तिरिदिएको र सो वापत ग्यारेन्टीमा दिएको चेक फिर्ता गर्न आग्रह गरेपछि दासले चेक बाउन्समा फँसाईदिने जस्ता धम्की दिन थालेपछि महतोले प्रहरी गुहारेको हो ।
दासलाई धनुषा प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।



















