धनवीर महतो
महोत्तरी, साउन १६ गते ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव आज मटिहानी पुगेका छन् । महिटानी नगरपालिकास्थित तमसैया बाबा पार्कमा निर्माण गरिएको नेपालको झण्डाको समुदघाटन गर्नका लागि उपराष्ट्रपति यादव मंगलबार बिहानै त्यहाँ पुगेका हुन् ।
मटिहानीस्थित अतिथिगृहमा उपराष्ट्रपति यादवलाई नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, प्रहरी उपरीक्षक प्रकाश मल्ल लगायतले ससम्मान स्वागत गरेका छन् ।

नेपालकै सबैभन्दा अग्लो १ सय १० फिटको झण्डा समुदघाटन हुने मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । त्यस्तै मटिहानी आएका उपराष्ट्रपति यादव त्यहाँ अवस्थित पौराणिक एवम् धार्मिक लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्नुको साथै लक्ष्मीसागर पोखरीमा हुने आरतीमा सहभागी हुने नगरप्रमुख मण्डलले जानकारी दिए ।
त्यस्तै सोही भ्रमणको क्रममा नेपालकै जेठो राजकीय संस्कृत माविको निरीक्षण गर्नुको साथै पीरबाबा मजारको पनि दर्शन गरिने कार्यक्रम रहेको छ ।
यता मटिहानी नगरपालिकाले उपराष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्द गरिने तयारी गरेको छ। अहिले मटिहानीमा व्यापकमात्रामा सुरक्षाकर्मी, नागरिक अभियानी, राजनीतिकर्मी, जनप्रतिनिधिका साथै सर्वसधारणको भिड लागेको छ ।
उपराष्ट्रपति यादव मटिहानी आएपछि व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिए।











