सर्लाहीका शिव मन्दिरमा भक्तजनको भीड


जनार्जन खत्री

सर्लाही, साउन १ गते ।

साउन महिनाको सोमबार सुरु भएसँगै सर्लाहीका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार जिल्लाभरीका शिव मन्दिरमा दिनभर दर्शनार्थीको घुइँचो लागेको छ ।

यहाँको लालबन्दीस्थित अक्लेश्वर महादेव मन्दिर डुमडुमे, हरिवनस्थित सुखेपोखरी महादेव मन्दिर र कैलाशपुरी महादेव मन्दिर, ईश्वरपुरस्थित सागरनाथ महादेव मन्दिर, बरहथवास्थित मुक्तेश्वर बाबाधाम मूर्तियासहित गाउँका शिव मन्दिरमा भक्तजनको भीड बढेको स्थानीय वासिन्दाले बताएका छन् ।

अब साउन महिनाभरी प्रत्येक शिव मन्दिरमा दर्शनार्थीको भीड लाग्छ । मन्दिरमा दर्शनार्थीको भीड बढ्न थालेसँगै सुरक्षा सतर्कता बढाइएको छ । भीडमा हुनसक्ने चोरी तथा अन्य अप्रिय घटना रोक्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यहाँ बोलबम भक्तजनको चाप समेत दिनानुदिन बढ्दैगएको छ ।

बोलबमयात्री सर्लाहीको विभिन्न भित्री सडक तथा पूर्व–पश्चिम राजमार्ग भएर महोत्तरीको टुटेश्वरनाथ लगायतका प्रख्यात शिव मन्दिरसम्म पुग्नेगरेका छन् । ठूलो सङ्ख्यामा भारतीय बोलबम तीर्थयात्रीले समेत यहाँका सडक प्रयोग गरेर हिँड्नेगरेका छन् ।

कर्मैयास्थित बागमती नदीमा जल उठाउन नेपाली तथा भारतीय बोलबमयात्री धेरै आइरहेका स्थानीय भिमसेन थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार बागमती किनारमा राति समेत भीड हुनेगर्छ ।

२४ घण्टा ब्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा समेत रातभरी बोलबम यात्री पैदल हिँडेर गन्तव्यतर्फ गइरहेका हुन्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख लेखनाथ मैनालीले राजमार्गमा दिनहुँ बोलबमयात्रीको चाप बढ्दोक्रममा रहेको बताउनुभयो ।

साउन लागेसँगै यहाँको लालबन्दी, बयलवास, हरिपुर, हरिवन, मलङ्गवा, बरहथवा, नवलपुर लगायत बजारमा चुरा, पोते, मेहेन्दीलगायत शृङ्गारका सामग्रीको व्यापार राम्रो भइरहेको व्यापारीले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको