एजेन्सी। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अन्तिम प्रि-क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कतारको लुसिल स्टेडियममा बुधबार बिहान भएको खेलमा पोर्चुगलले कान्सेलो रामोसको ह्याट्रिक गोलमा स्विट्जरल्यान्डमाथि ६-१ गोलको सानदार जित निकालेको हो ।
पहिलो हाफमा २-० गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप ४ गोल गर्न सफल भयो । स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए ।
पोर्चुगलका लागि कान्सेलो रामोसले ह्याट्रिक पूरा गर्दा पेपे, राफेएल गुरेइरो र राफेएल लियोले समान १/१ गोल गरे । रामोसले गरेको ह्याट्रिक नै जारी कतार विश्वकपको पहिलो ह्याट्रिक गोल हो । यस्तै पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो ।
उक्त जितसँगै पोर्चुगल अन्तिम ८ मा पुगेको छ । अब पोर्चुगलले सेमिफाइनल प्रवेशको लागि मोरक्को सँग खेल्नेछ । मोरक्कोले स्पेनलाई पेनाल्टीमा ३-० गोलले हराउँदै अन्तिम ८ मा पुगेको हो ।









