बर्दिबास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत बर्दिबासमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताले जनताका दैनिक समस्या, विकास निर्माण, प्राकृतिक स्रोत संरक्षण र सार्वजनिक निकायमा सुशासन कायम गर्नुपर्ने विषयमा केन्द्रीय प्रतिनिधिहरूको ध्यानाकर्षण गराएका छन्।
बर्दिबासस्थित विनायक ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा बर्दिबास र भंगाहा नगरपालिकाका नेता तथा कार्यकर्ताले आफ्ना समस्या, गुनासा र सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि पार्टी नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिएका थिए।
असोज २७ गतेसम्म सञ्चालन हुने अभियानका लागि पार्टीले मधेस प्रदेश सभापति इन्जिनियर तपेश्वर यादव, पुनमकुमारी अग्रवाल र सिताराम साहलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ। अभियानअन्तर्गत महोत्तरीका १५ वटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या तथा जनगुनासा सङ्कलन गर्ने र पार्टीको अभियानलाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखिएको छ।
कार्यक्रममा युवा नेता विजय पोखरेलले वन क्षेत्रमा करोडौँ रुपैयाँ मूल्यको काठ कुहिएर खेर जाने अवस्था रहेको भन्दै त्यसको सदुपयोगका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने बताए। वनमा रहेका काठ समयमै उपयोगमा ल्याउन नसक्नु कमजोरी भएको उल्लेख गर्दै उनले आवश्यक परे कानुन संशोधन गरेर भए पनि काठ खेर जान नदिने व्यवस्था गर्नुपर्ने धारणा राखे।
पोखरेलले चुरे क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरी भूमिगत जलस्रोतको पुनर्भरण गर्नुपर्नेमा पनि जोड दिए। तराईलाई मरुभूमीकरणको जोखिमबाट जोगाउन दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै उनले घरघरमा अव्यवस्थित रूपमा ट्युबवेल जडान हुँदा भूमिगत पानीको सतह घट्दै गएको विषयमा ध्यान दिनुपर्ने सुझाव दिए।
रास्वपाका नेता पिताम्बर महतोले रातुखोलामा भइरहेको दोहन नियन्त्रण गर्न माग गरे। बर्दिबास नगरपालिकाले वितरण गर्न लागेको जग्गाको हकभोग निस्सा वितरण प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउनुपर्ने धारणा राख्दै उनले यस विषयमा आवश्यक ध्यान दिन आग्रह गरे। साथै, बर्दिबासमा रेबिज तथा सर्पदंशविरुद्धका खोप पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने उनको माग थियो।
बर्दिबास नगरपालिका–२ का देवनारायण महतोले बर्दिबास खानेपानी उपभोक्ता समितिमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न पार्टी नेतृत्वसँग आग्रह गरे। सार्वजनिक सरोकारका विषयमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पार्टीले सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै उनले सामाजिक कुरीति र विकृतिका विषयमा पनि नेताहरूले स्पष्ट धारणा राख्नुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले ‘हामी आउँदैछौँ’ अभियान सरकार, पार्टीका कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउने तथा नागरिकका समस्या प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले सञ्चालन गरिएको बताए। जनताले आफ्ना समस्या लिएर सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै नेता नै जनताको घरदैलोमा पुग्नुपर्ने उनको भनाइ थियो।
‘आज धेरै साथीहरूका सुझाव र गुनासा सुन्ने अवसर मिल्यो,’ यादवले भने, ‘समय अभावका कारण आफ्ना कुरा राख्न नपाउनुभएका साथीहरूले लिखित रूपमा सुझाव दिनुहोला।’ जनताका दैनिक समस्या बुझेर समाधानका लागि पहल भइरहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर लागे बर्दिबास नगरपालिकामा रास्वपाले प्रमुख पद जित्ने दाबीसमेत गरे।
कार्यक्रममा रास्वपा महोत्तरी जिल्ला सभापति शुभम यादव, जिल्ला उपसभापति चन्द्रकिशोर महतो लगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो। पार्टीका नगर सभापति परशुराम बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय विकास, सुशासन, प्राकृतिक स्रोत संरक्षण, स्वास्थ्य सेवा र सामाजिक विकृतिसँग सम्बन्धित विषय उठाइएको थियो। अभियानमार्फत स्थानीय समस्या र नागरिकका अपेक्षा पार्टी नेतृत्वसम्म पुर्याउने तथा जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।











