बिनोद ढुङगेल – बर्दिबास, महोत्तरी । बर्दिबास नगरपालिका-१२ लाई एक विशेष समारोहबीच ‘बालविवाह मुक्त वडा’ घोषणा गरिएको छ। ‘बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वडालाई औपचारिक रूपमा बालविवाह मुक्त घोषणा गरिएको हो।
कार्यक्रममा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्री, उपप्रमुख तारादेवी महतो, प्रमुख प्रशासकीय अधिकृत जयराम गजुरेल, वडा अध्यक्ष रेवती शर्मा लगायत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति थियो। उद्घाटन समारोहमा बिरुवामा जल सिञ्चन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो।
बर्दिबास नगरपालिकाका अन्य वडाहरू यसअघि नै बालविवाह मुक्त घोषणा भइसकेका थिए। वडा नम्बर १२ समेत बालविवाह मुक्त घोषणा भएसँगै नगरपालिकाका सबै १४ वटै वडा बालविवाह मुक्त भएका छन्।
बालविवाह मुक्त वडा घोषणा अभियानमा सेभ द चिल्ड्रेन, पैरवी मञ्चलगायत विभिन्न संघसंस्थाले सहयोग तथा सहकार्य गरेको जनाइएको छ।
कार्यक्रममा अब आगामी चरणमा विभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा समग्र बर्दिबास नगरपालिकालाई नै ‘बालविवाह मुक्त नगरपालिका’ घोषणा गर्ने तयारी भइरहेको जानकारी गराइएको थियो।











