सिरहा। सिरहाको नरहा गाउँपालिका-३, रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन्।
शनिबार बिहान ७ः३५ बजे गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा नरहा गाउँपालिका-३ का अन्दाजी ५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी, सोही स्थानका अन्दाजी ४५ वर्षीय साइकलयात्री राजातुल अंसारी घाइते भएका छन्। उनको दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अंसारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ट्रक चालक धनुषाको मिथिला नगरपालिका-९ का अन्दाजी २५ वर्षीय कमलेश महतो सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।










