वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा बेवारिसे अवस्थामा रोकिराखेको भारतीय कारबाट सशस्त्र प्रहरीले चार थान पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको मोबाइल टोलीले शङ्कास्पद अवस्थामा रोकिराखेको युपी १६ एजे ३३०१ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा बोराभित्र लुकाइराखिएको अवस्थामा हातहतियार फेला पारेको हो।
कारबाट दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल र ७।६२ एमएमका ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
बरामद हातहतियार, गोली र कारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










