धनुषा। धनुषाको मिथिला नगरपालिका-७, ढल्केवरमा एक महिलाको घरकै प्यासेजमा शंकास्पद अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ २९ गते राति करिब १०ः५० बजे स्थानीय ३४ वर्षीय श्रवण महतोकी २७ वर्षीया श्रीमती पुनिता देवी महतो घरको प्यासेजमा मृत अवस्थामा फेला परेकी हुन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी निरीक्षक उदय शमशेर जबराको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्ने क्रममा मृतकको घाँटीमा कसिएको जस्तो डाम देखिएपछि मृत्यु शंकास्पद रहेको जनाएको छ।
घटनापछि प्रहरीले मृतकका श्रीमान् श्रवण महतोलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखेर ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।










