मधेशमा आज चौरचन पर्व मनाइँदै


बर्दिबास। मधेशका जिल्लाहरुमा आज चन्द्रमाको पूजा आराधना गरी चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ।

छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ।

सूर्यास्तपछि घर-आँगन गोबरले लिपेर चामलको पिठोबाट आकर्षक अरिपन बनाउने गरिन्छ। अरिपनमा पूजाका सामग्री राखेर गणेश र चन्द्रमाको पूजा आराधना गरिन्छ।

यस पर्वमा माटोका नयाँ भाँडामा दही, केरा, मिठाई, खीर, पुरीलगायत विभिन्न परिकार राखेर भगवान्लाई चढाउने चलन छ। पूजापछि गणेश र चन्द्रमासम्बन्धी धार्मिक कथा सुन्ने तथा सुनाउने परम्परा पनि रहेको छ।

व्रतालुहरूले चन्द्रमालाई अर्घ्य दिएपछि पूजामा चढाइएको प्रसाद ग्रहण गर्ने र आफन्त तथा इष्टमित्रलाई समेत बाँड्ने गर्छन्। परिवारको सुख, शान्ति, समृद्धि तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण चौठचन्द्र पर्व विशेष श्रद्धा र उत्साहका साथ मनाउने गरिन्छ।

धार्मिक मान्यताअनुसार प्रख्यात ज्योतिष तथा तत्कालीन नरेश हेमाङ्गद ठाकुरले चौठचन्द्र पर्वको सुरुवात गरेका थिए। चौठचन्द्रको व्रत तथा पूजा गरेमा विशेष फल प्राप्त हुने विश्वास रहँदै आएको छ।

मधेशका जिल्लामा विशेष उल्लासका साथ मनाइने चौठचन्द्र पर्व भारतका केही राज्यमा समेत प्रचलित रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको