सर्लाही। सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका-८ का विभिन्न बस्तीमा स्यालको आक्रमणबाट छ जना मानिस र करिब २५ वटा पशुचौपाया घाइते भएका छन्।
हरिवन-८ का चापिनी, आपडाँडा, स्कुलटोल र जिम्दार चोकमा एउटै स्यालले मानिस तथा पशुचौपायालाई टोकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
स्यालको टोकाइबाट ३० वर्षीया अर्पना कोइराला, ३४ वर्षीया विमला तामाङ, २१ वर्षीय प्रशान्त उप्रेती, ६५ वर्षीय तिलबहादुर मगर, ७१ वर्षीय मनबहादुर थामी र ६६ वर्षीय देवराम मगर घाइते भएका छन्।
घाइतेहरूको नगर अस्पताल सासापुर, नमुना अस्पताल हरिवन तथा हरिवन बजारका विभिन्न निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो। केही घाइतेले हेटौँडा, वीरगन्ज र काठमाडौं पुगेर रेबिजविरुद्धको खोप लगाउनुका साथै उपचारसमेत गराएका छन्।
एकैपटक धेरै मानिसलाई स्यालले टोकेपछि हरिवन नगरपालिकाले छिमेकी लालबन्दी नगरपालिकासँग समन्वय गरी नगर अस्पताल सासापुरमा रेबिजविरुद्धको खोप मगाएको छ।
स्वास्थ्य शाखा संयोजक चौधरीले तत्काल नगर अस्पतालमा रेबिजविरुद्धको खोप सकिएको अवस्थामा घटना हुनासाथ लालबन्दीबाट खोप सापटी लिएर अस्पतालमा उपलब्ध गराइएको बताउनुभयो।
यसैगरी, स्यालको आक्रमणबाट करिब २५ वटा भैँसी तथा बाख्रा घाइते भएको हरिवन नगरपालिकाको पशु स्वास्थ्य शाखाले जनाएको छ।
पशु स्वास्थ्य शाखाका डा. महेश श्रेष्ठका अनुसार आइतबार बिहान स्यालले आक्रमण गरेका बस्तीमा पुग्दा किसानहरूले घाइते पशुचौपायालाई निजी भेटेरिनरीका पशु प्राविधिक बोलाएर रेबिजविरुद्धको खोप लगाइसकेका थिए।
स्यालले टोकेका पशुचौपायालाई थप रेबिजविरुद्धको खोप आवश्यक परे पशु स्वास्थ्य शाखाबाट खोप उपलब्ध गराउन सकिने डा. श्रेष्ठले बताउनुभयो।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल)ले स्यालको आक्रमणबाट मानिस तथा पशुचौपाया घाइते भएपछि स्वास्थ्यकर्मी तथा पशु प्राविधिक परिचालन गरिएको जानकारी दिनुभयो।










