बाँके खोलाको दहमा डुबेर १९ वर्षीय विद्यार्थीको मृत्यु


बिनय यादब – महोत्तरी। सर्लाही र महोत्तरीको सीमामा पर्ने बाँके खोलास्थित तिरतिरे झरना नजिकको दहमा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका-२ का १९ वर्षीय गणेश भण्डारी रहेका छन्।

भण्डारी बर्दिबास नगरपालिका-११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालय (सीटीईभीटी) मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ।

साथीहरूका अनुसार सामाजिक सञ्जाल टिकटकमार्फत तिरतिरे झरनाबारे जानकारी पाएपछि गणेशसहित करिब सात जनाको समूह शनिबार बिहान करिब ११ बजे नुहाउन उक्त क्षेत्रमा पुगेको थियो।

बाँके खोलाको ड्यामबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको दहमा नुहाउने क्रममा पानीको बहावले तान्न थालेपछि उनीहरू बाहिर निस्कने प्रयासमा जुटेका थिए। समूहमा रहेका छ जना बाँस तथा लौरोको सहायताले सकुशल बाहिर निस्कन सफल भए पनि गणेश भने पानीमा डुबेका थिए।

केही समयपछि पानीले गणेशको शव बाहिरतर्फ ल्याएको साथीहरूले बताएका छन्। त्यसपछि उनीहरूले स्थानीयलाई खबर गर्दै उद्धारका लागि सहयोग मागेका थिए।

घटनाको जानकारी पाएपछि खयरमारा प्रहरी चौकीबाट प्रहरी टोली, सम्बन्धित वडाध्यक्ष पूर्णबहादुर बल, स्थानीय युवा तथा स्थानीयवासी घटनास्थल पुगेका थिए। तर बाँके खोलामा पानीको बहाव अत्यधिक रहेकाले शव बाहिर ल्याउन कठिनाइ भएको थियो।

शव उद्धारका लागि जेसीबी वा ट्र्याक्टर आवश्यक परेपछि स्थानीय सरकार, प्रशासन, वडाध्यक्ष तथा सीटीईभीटीका प्रतिनिधिले साधन जुटाउन पहल गरेका थिए। तत्काल साधन उपलब्ध हुन नसक्दा उद्धारमा ढिलाइ भएको बताइएको छ।

अन्ततः सर्लाहीतर्फबाट एउटा ट्र्याक्टरको सहयोगमा राति करिब साढे १ बजे गणेशको शवसहित घटनास्थलमा रहेका अन्य युवालाई समेत सुरक्षित रूपमा बाहिर ल्याइएको जानकारी प्राप्त भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको