२७ भदौ, अनुराग कुमार यादव – बर्दिबास। बर्दिबासमा ग्यास पसल, किराना तथा खाद्यान्न पसल, होटल, मेडिकल र स्वास्थ्यसम्बन्धी व्यवसायमा अनुगमन गरिएको छ।
इलाका प्रशासन कार्यालयबाट खटिएको टोली तथा उद्योग वाणिज्य संघको नेतृत्वमा अनुगमनका क्रममा म्याद गुज्रिएका वस्तु तथा औषधिसहित आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थामाथि कारबाही गरिएको हो।
अनुगमनका क्रममा आवश्यक दर्ता तथा प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका केही स्वास्थ्य संस्थामाथि कारबाही गरिएको अनुगमन टोलीले जनाएको छ। टोलीले बर्दिबास – १ स्थित रिया डायग्नोस्टिक सेन्टर प्रा.लि. मा सिलबन्दी गरेको छ भने बर्दिबास – १४ स्थित विधा आयुर्वेदिक औषधालय प्यारालायसिस (लक्वा) उपचार केन्द्र मा ताल्चा लगाएर आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ।
अनुगमनका क्रममा रिया डायग्नोस्टिक सेन्टरमा आवश्यक दर्ता तथा योग्य जनशक्ति नरहेको पाइएको टोलीले जनाएको छ। साथै, आवश्यक अनुभव तथा योग्यता नपुगेका व्यक्तिबाट प्रयोगशाला परीक्षण गराउने गरेको समेत भेटिएको बताइएको छ।
त्यसैगरी, बर्दिबास-१४ स्थित विधा आयुर्वेदिक औषधालय प्यारालायसिस (लक्वा) उपचार केन्द्रले पनि आवश्यक प्रक्रिया पूरा नगरेको पाइएपछि कारबाही गरिएको टोलीले जनाएको छ। सम्बन्धित व्यवसायीमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ।
अनुगमनका क्रममा दर्ता नभएका व्यवसाय, म्याद गुज्रिएका औषधि तथा योग्य जनशक्ति र स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका संस्थाहरू फेला परेको टोलीले जनाएको छ। यस्ता संस्थामाथि निरन्तर अनुगमन गरी कानुनबमोजिम कारबाही गरिने टोलीको भनाइ छ।
यसैबीच, रिया डायग्नोस्टिक सेन्टरका सञ्चालक ललेन्द्र ठाकुरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको जनाइएको छ।












