काठमाडौं । इरान र अमेरिकाबीच मध्यपूर्वमा सैन्य तनाव बढिरहेका बेला इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर ९आईआरजीसी० ले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरूमध्यबाट अमेरिकी सेनाको मानवरहित पनडुब्बी नियन्त्रणमा लिएको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार नियन्त्रणमा लिइएको उपकरण अमेरिकी प्रतिरक्षा प्रविधि कम्पनी एन्डुरिल इन्डस्ट्रिजले निर्माण गरेको ‘डाइभ–एलडी’ नामक स्वायत्त अन्डरवाटर भेहिकल ९एयूभी० हो। यो चालकविहीन र स्वचालित रूपमा पानीमुनि सञ्चालन गर्न सकिने अत्याधुनिक समुद्री ड्रोनका रूपमा परिचित छ।
करिब ६ मिटर लामो र करिब तीन टन तौलको डाइभ–एलडी समुद्रको सतहदेखि ६ हजार मिटरसम्मको गहिराइमा सञ्चालन गर्न सक्ने क्षमता रहेको बताइएको छ। यसलाई लामो समयसम्म समुद्रमुनि रहेर सूचना सङ्कलन, समुद्री क्षेत्रको नक्साङ्कन, समुद्री बारुदी सुरुङ पहिचान तथा समुद्री पूर्वाधारको निरीक्षणजस्ता काममा प्रयोग गर्न सकिन्छ।
निर्माण कम्पनीका अनुसार उक्त उपकरण एकपटक परिचालन गरेपछि करिब १० दिनसम्म निरन्तर पानीमुनि रहेर काम गर्न सक्छ। करिब २५ लाख अमेरिकी डलर मूल्य पर्ने यो प्रणालीलाई जोखिमपूर्ण सैन्य अभियानमा आवश्यक परे गुमाउन सकिने गरी विकास गरिएको ‘एट्रिटेबल’ प्रणालीका रूपमा समेत वर्णन गरिएको छ।
यसमा खुला र लचिलो सफ्टवेयर तथा हार्डवेयर संरचना प्रयोग भएकाले आवश्यकता अनुसार विभिन्न सेन्सर, क्यामेरा र सोनार प्रणाली जडान गर्न सकिने बताइएको छ।
इरानले अत्याधुनिक अमेरिकी मानवरहित समुद्री उपकरण नियन्त्रणमा लिनुलाई आफ्नो रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। तर अमेरिकी रक्षा अधिकारीहरूले भने उक्त उपकरणमा प्राविधिक समस्या आएपछि नियन्त्रण गुमेको र यो पुरानो मोडल भएको दाबी गरेका छन्। अमेरिकी पक्षले यसमा संवेदनशील वा वर्गीकृत सूचना नरहेकोसमेत जनाएको छ।
यद्यपि, उपकरण इरानको नियन्त्रणमा पुगेको पुष्टि भएमा त्यसको प्राविधिक अध्ययनबाट अमेरिकी स्वायत्त समुद्री प्रविधि, सेन्सर प्रणाली तथा समुद्री नक्साङ्कन क्षमताबारे केही महत्वपूर्ण जानकारी प्राप्त हुन सक्ने विश्लेषण गरिएको छ।










