आज कुशेऔँशी तथा बाबुको मुख हेर्ने दिन


काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन्। भाद्र कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ।

शास्त्रीय विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर ल्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता रहेको छ। अन्य दिन उखेलिएको कुश भने सोही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता छ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक मान्यताअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीको उत्पत्तिसँगै पवित्र कुशको पनि उत्पत्ति गर्नुभएको विश्वास गरिन्छ।

बाबुको मुख हेर्ने दिन

कुशेऔँशीलाई बाबुको मुख हेर्ने दिनका रूपमा समेत मनाइन्छ। यस अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा परिकार खुवाएर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने परम्परा छ।

बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर आफ्ना पिताको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्।

यस अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ। उत्तरगया क्षेत्रका रूपमा समेत परिचित गोकर्णमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको भीड लाग्ने गर्दछ। यही कारण भाद्र कृष्ण औँसीलाई ‘गोकर्णे औँसी’ समेत भनिन्छ।

त्यस्तै रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक खाना खुवाएर सम्मान गरेमा सुख, शान्ति र आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ। दिवङ्गत पिताको नाममा तीर्थस्थलमा गई तर्पण तथा सिदादान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

कुशेऔँशीलाई पितृप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको