लक्ष्मिनियामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते


धनुषा। धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ स्थित स्वास्थ्य निर्देशनालय अगाडि जनकपुर-ढल्केबर सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०२-०६६ प ५९४२ नम्बरको बुलेट मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ज ८ प ३५०९ नम्बरको ग्लामर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बुलेट मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय पुरुष घाइते भएका थिए। उनको साथमा रहेको सवारी चालक अनुमतिपत्रको नगदी रसिदका आधारमा उनी सिरहा नरहा गाउँपालिका-५ का सुमन यादव रहेको खुलेको प्रहरीले जनाएको छ। यादवको उपचारका क्रममा मृत्यु भएको हो।

सोही मोटरसाइकलको पछाडि सवार सिरहाको नरहा गाउँपालिका-५ का अन्दाजी २५ वर्षीय सुभाष यादव घाइते भएका छन्। यस्तै, अर्को मोटरसाइकलका चालक धनुषाको लक्ष्मिनिया गाउँपालिका-६ का अन्दाजी ३१ वर्षीय मनोजकुमार यादव पनि घाइते भएका छन्।

घाइते दुवै जनाको जानकी मेडिकल कलेज, रमदैयामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको