वीरगन्ज महानगरपालिकाले बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग गर्ने
वीरगन्ज। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
कार्यवाहक मेयर इम्तियाज आलमको अध्यक्षतामा शनिबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाका अनुसार सहयोग रकम विभिन्न आन्तरिक स्रोतबाट संकलन गरिनेछ । वीरगन्ज महानगरपालिकाका ३२ वटै वडा कार्यालयबाट प्रतिवडा १ लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ ।
त्यस्तै, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको तलब तथा सेवा–सुविधाबापतको रकम र महानगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोग रकम जुटाइने कार्यवाहक मेयर आलमले जानकारी दिए ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आकस्मिक बैठक बोलाएर सहयोग गर्ने निर्णय गरिएको आलमले बताए ।
उनले विपद्को समयमा स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी तथा नागरिक सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए । महानगरपालिकाले उपलब्ध गराउने रकम प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा उपयोग हुने विश्वास व्यक्त गरिएको छ ।