महोत्तरी। महोत्तरी प्रहरीले ३१ किलो ३८५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०८३ भदौ ८ गते राति करिब ९ बजे प्राप्त गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोनमा गाउँपालिका-१ स्थित सोनमा बजारदेखि खखना जाने सडकखण्डमा सवारीसाधन चेकजाँच गरेको थियो।
सो क्रममा उत्तरबाट दक्षिणतर्फ खखना जाँदै गरेको प्रदेश नं. २-०२-००५ प ३२९४ नम्बरको अपाचे मोटरसाइकल शंकास्पद अवस्थामा फेला परेको थियो। मोटरसाइकलमा सवार एक पुरुष र एक महिलालाई चेकजाँच गर्दा उनीहरूले बोकेको प्लास्टिकसहित २१ किलो १० ग्राम गाँजाजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा प्रहरीले सम्बन्धित व्यक्तिको कोठामा समेत खानतलासी गरेको थियो। सो क्रममा प्लास्टिकसहित थप १० किलो ३७५ ग्राम गाँजाजस्तो पदार्थ बरामद भएको थियो।
प्रहरीका अनुसार घटनामा संलग्न थप एक पुरुषलाई समेत पक्राउ गरिएको छ। प्रहरीले जम्मा ३१ किलो ३८५ ग्राम गाँजाजस्तो पदार्थ, तीन जना व्यक्ति र दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको थियो। उनीहरूलाई भदौ ९ गते महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।









