जनकपुरधाम। मुक्त हरवा चरवाका समस्या समाधान तथा आफूहरूले उठाउँदै आएका माग कार्यान्वयन गर्न माग गर्दै हरवा चरवा समुदायले मंगलबार जनकपुरधामस्थित मधेश प्रदेश सरकारको प्रशासनिक केन्द्र मधेश भवन घेराउ गरेका छन्।
मधेश प्रदेशका आठवटै जिल्लाबाट जनकपुरधाम आएका मुक्त हरवा चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको सहभागितामा प्रदर्शन गरिएको हो। मुक्त हरवा चरवा अधिकार मञ्चअन्तर्गतको हरवा चरवा संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले प्रदेश सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।
रेलवे स्टेसनबाट सुरु भएको विरोध ¥याली जनकपुरधामका विभिन्न स्थान हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ अघि बढेको थियो। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई मधेश भवनभित्र प्रवेश गर्न नदिएपछि उनीहरूले भवनको बाहिरी क्षेत्रमा नाराबाजी गर्दै धर्ना दिएका थिए।
संघर्ष समितिका संयोजक श्रीप्रसाद सादाका अनुसार मुक्त हरवा चरवाको यकिन पहिचानका लागि तथ्यांक संकलन, परिचयपत्र वितरण, उचित पुनःस्थापना तथा शिक्षा, स्वास्थ्य, रोजगारी र जीविकोपार्जनका अवसर सुनिश्चित गर्नुपर्ने माग लामो समयदेखि उठाउँदै आए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
सरकारबाट पटक–पटक आश्वासन पाए पनि माग सम्बोधन नभएपछि दबाबमूलक आन्दोलन गर्नुपरेको समितिको भनाइ छ। संघर्ष समितिका सदस्य लागेन्द्र सादाले प्रदेश सरकारले स्पष्ट प्रतिबद्धतासहित काम अघि नबढाए आन्दोलनलाई थप निरन्तरता दिने चेतावनी दिनुभयो।
हरवा चरवा प्रथा अन्त्य भएको घोषणा भए पनि धेरै परिवार अझै भूमिहीनता, आवास अभाव, बेरोजगारी तथा सामाजिक सुरक्षाबाट वञ्चित रहेको प्रदर्शनकारीको दाबी छ। उनीहरूले पुनःस्थापना र जीवनस्तर सुधारका लागि प्रदेश सरकारले लक्षित कार्यक्रम ल्याउन माग गरेका छन्।
आन्दोलनको दोस्रो चरणअन्तर्गत भदौ १० गते बुधबार बिहान ९ बजेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्ना दिने कार्यक्रम तय गरिएको संयोजक सादाले जानकारी दिनुभयो। धर्नाका क्रममा प्रदेश सरकारलाई औपचारिक मागपत्र बुझाउने तयारी रहेको समितिले जनाएको छ। माग सम्बोधन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिइएको छ।









