भदौको वर्षाले महोत्तरीका धानबालीमा राहत, किसानमा उत्पादनको आशा


महोत्तरी। भदौ लागेयता नियमित वर्षा हुन थालेपछि महोत्तरीका धान किसानलाई राहत मिलेको छ। रोपाइँको समयमा पर्याप्त वर्षा नहुँदा चिन्तित बनेका किसान पछिल्लो समय दिनहुँजसो पानी पर्न थालेपछि धानबाली सप्रिन थालेको भन्दै उत्साहित भएका छन्।

भङ्गाहा-४ रामनगरका किसान शुभनारायण ठाकुरका अनुसार साउनभरि पर्याप्त वर्षा नहुँदा धानबाली सप्रिने आशा कम भएको थियो। तर, भदौ लागेयता नियमित वर्षा भएपछि धानको रोपो फेरिएर तीव्र रूपमा बढ्न थालेको उनले बताए। आगामी एक महिना पनि अनुकूल वर्षा भए धान घर भित्र्याउन सकिने आशा पलाएको उनको भनाइ छ।

त्यस्तै, भङ्गाहा–-३ कटैयाकी किसान रामराजी यादवले पनि पछिल्लो एक साताको वर्षाले धानबालीमा सुधार आएको बताइन्। असार-साउनमा पर्याप्त वर्षा नहुँदा इनार तथा बोरिङबाट पानी तानेर रोपाइँ गर्नुपरे पनि पछिल्लो वर्षाले धानबालीलाई ठूलो राहत दिएको उनले बताइन्।

यस वर्ष रोपाइँका बेला अनुकूल वर्षा हुन नसके पनि महोत्तरीमा धान रोपाइँ भने सन्तोषजनक भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ। कार्यालयका सूचना अधिकारी अविरलकुमार महतोका अनुसार साउन मसान्तसम्म जिल्लामा करिब ८७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। स्थानीय जातका धानको खरुअन रोपाइँ भदौको पहिलो सातासम्म पनि केही क्षेत्रमा जारी रहेकाले भदौ १० सम्ममा रोपाइँ करिब ९० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

महोत्तरीमा कुल ७१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ४० हजार हेक्टरमा धान खेती हुँदै आएको छ। साउन मसान्तसम्म करिब ३४ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ।

जिल्लामा करिब १० प्रतिशत जमिनमा मात्र स्थायी सिँचाइ सुविधा रहेको छ। थप करिब २० हजार हेक्टर क्षेत्रमा इनार, बोरिङ तथा भूमिगत सिँचाइमार्फत वैकल्पिक सिँचाइको पहुँच पुगे पनि महँगो लागतका कारण सबै किसानले आवश्यकताअनुसार पानी प्रयोग गर्न सक्ने अवस्था छैन। त्यसैले जिल्लाको अधिकांश धानखेती अझै पनि आकाशे पानीमै निर्भर रहेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको