सर्लाही। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटर रोकी जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
प्रहरीका अनुसार स्कुटरको डिकी तथा चालकले बोकेको कालो झोलाभित्र लुकाइछिपाई राखिएको अवस्थामा रकम फेला परेको थियो। बरामद रकममा एक हजार रुपैयाँ दरका ३ हजार ५०० थान, पाँच सय रुपैयाँ दरका ३ हजार १०८ थान, एक सय रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट रहेका छन्।
रकमसहित पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका-१२ का करिब ५७ वर्षीय जगन्नाथ महतो कोईरी रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा कोईरी घाइते भएका थिए। उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल मलङ्गवा लगिएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको छ।
यस्तै, उनलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रलाई समेत सामान्य चोट लागेको छ। दुवै जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद रकम, स्कुटर तथा कोईरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।









