वीरगन्ज। पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ साउन २५ गते साँझ करिब ६ः३० बजे वीरगन्ज महानगरपालिका-१०, आदर्शनगरमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा मोटरसाइकल रोकी जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको ठूलो रकम बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला डुमरा-६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका-१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको बिन्दवासिनी गाउँपालिका-१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार रुपैयाँ दरका ४० लाख ५ हजार रुपैयाँ, ५ सय रुपैयाँ दरका ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय रुपैयाँ दरका ६४ हजार ३०० रुपैयाँ र ५० रुपैयाँ दरका ४ हजार २०० रुपैयाँ बरामद भएको छ।
यसरी बरामद रकमको कुल मूल्य ५२ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले रकमसँगै प्रदेश २-०३-००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
बरामद रकमको स्रोत तथा घटनासम्बन्धी विषयमा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।









