बर्दिबास। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै स्थानीयवासीले मसाल जुलुस निकालेर विरोध जनाएका छन्।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा आइतबार ढल्केबर बजारमा निकालिएको मसाल जुलुसमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका थिए। जुलुसमा सहभागीले ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
संघर्ष समितिले प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग गर्दै गत शुक्रबारदेखि चरणबद्ध आन्दोलन घोषणा गरेको थियो। बुधबार सदनमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी गराएपछि ढल्केबर क्षेत्रमा विरोध सुरु भएको संघर्ष समितिले जनाएको छ।
आन्दोलनका कार्यक्रमअन्तर्गत ढल्केबरमा पूर्व-पश्चिम राजमार्गमा आधा घण्टा चक्काजाम गर्ने घोषणा गरिएको छ। त्यसैगरी साउन २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म तथा २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राजमार्ग चक्काजाम गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले जानकारी दिनुभयो।
मेयर महतोका अनुसार मिथिला नगरपालिका-७, साविक ढल्केबर गाविस-२ ‘क’ स्थित कित्ता नम्बर १६९ को करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको थियो।
उक्त योजनाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको र लालपुर्जा समेत बनिसकेको मेयर महतोको दाबी छ। त्यसैले लामो समयदेखि प्रस्तावित ढल्केबरमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने स्थानीयको माग छ।
यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बिहीबार सामाजिक सञ्जालमार्फत ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पार्नुभएको छ।
मन्त्रीको उक्त भनाइपछि पनि स्थानीयले सरकारको आधिकारिक र स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्। प्रस्तावित ट्रमा सेन्टरको स्थानबारे देखिएको अन्योल तत्काल अन्त्य गरी निर्माण प्रक्रिया अघि बढाउन स्थानीयवासीले सरकारसँग आग्रह गरेका छन्।









