धर्मेन्द्र कुमार कुर्मी – कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा कानुनी सचेतना तथा परामर्श सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती कानुनी शिविर सम्पन्न भएको छ।
नवजीवन संस्था र फोेडेको सहकार्यमा आयोजित शिविरमा महिला, दलित महिला, मुस्लिम महिला, किशोरी, बालबालिका तथा यौनिक अल्पसंख्यक समुदायको अवस्था, अधिकार र कानुनी विषयमा प्रशिक्षण तथा परामर्श प्रदान गरिएको नवजीवन संस्थाकी फेलो अर्पना सुनारले जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले समाजमा कुनै पनि व्यक्तिलाई विभेद वा अपहेलना नगरी सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो। अवसर र सम्मानका दृष्टिले पछाडि परेका समुदायलाई मूलधारमा ल्याउन तीनै तहका सरकारले आवश्यक चासो र जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
उपलब्ध अवसरको सदुपयोग गर्न सम्बन्धित समुदायका व्यक्तिहरू पनि सक्षम र तयार हुनुपर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो।
त्यस्तै, नवजीवन संस्थाकी संयोजक प्रेरणा विष्टले लक्षित समुदायलाई आफ्ना अधिकार तथा कानुनी व्यवस्थाबारे जानकारी गराउँदै आवश्यक पर्दा परामर्श र सहयोग प्राप्त गर्ने वातावरण निर्माण गर्न शिविर आयोजना गरिएको बताउनुभयो।
महिला, दलित, मुस्लिम, किशोरी, बालबालिका तथा यौनिक अल्पसंख्यक समुदायले भोगिरहेका समस्या र चुनौतीबारे सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो।
कार्यक्रममा प्रशिक्षक अधिवक्ता सञ्जय कुमार पासीले कानुनी अधिकार, विद्यमान कानुनी व्यवस्था तथा लक्षित समुदायले पाउने सेवा-सुविधाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।
शिविरमा जनप्रतिनिधि, यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधि, प्रहरी, महिला तथा बालबालिकालगायतको सहभागिता रहेको थियो।













