सर्लाही। अनुदानमा उपलब्ध गराइने रासायनिक मल कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरबाट डीएपी मल बिक्री गरिरहेको अवस्थामा मलङ्गवा-७ का अभिनय राय र अभिनन्दन राय पक्राउ परेका हुन्।
उनीहरूको बयानका आधारमा प्रहरीले मलङ्गवा-४ शिवसागर चोकस्थित पसलका सञ्चालक मलङ्गवा-३ का राहुल गुप्तालाई पनि पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार रायद्वयले प्रतिबोरा तीन हजार ५०० रुपैयाँमा डीएपी मल बिक्री गरिरहेका थिए। उनीहरूको पसलमा गरिएको खानतलासीका क्रममा ५० किलो तौलका चार बोरा डीएपी र एक बोरा युरिया मल बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा रायद्वयले उक्त मल राहुल गुप्ताको पसलबाट प्रतिबोरा तीन हजार २०० रुपैयाँमा खरिद गरेको बयान दिएका थिए। त्यसपछि गुप्ताको पसलमा गरिएको खानतलासीबाट सात बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले तीनै जनाविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।









