आलुको बोराभित्र लुकाइएको ४५ ग्राम खैरो हेरोइन बरामद, तीन जना पक्राउ


बर्दिबास। आलुको बोराभित्र लुकाएर काठमाडौं लैजान खोजिएको ४५.१९० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानस्थित बीपी राजमार्गमा सवारी साधन जाँचका क्रममा महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०५-००१ ज ००८६ नम्बरको हाईसबाट उक्त परिमाणको खैरो हेरोइन बरामद गरेको हो।

प्रहरीका अनुसार हाईसमा सवार सिरहाको मिर्चैया नगरपालिका-५ का २० वर्षीय सन्देश यादवलाई पक्राउ गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बरामद लागुऔषध काठमाडौंसम्म लैजान दिई प्रहरीले हाईसलाई निगरानी (स्कर्टिङ) गर्दै पछ्याएको थियो।

यसक्रममा मोटरसाइकलमा स्कर्टिङ गरिरहेका धनुषाको कमला नगरपालिका-७ का २० वर्षीय राहुल कुमार मण्डल र सिरहाको कल्याणपुर नगरपालिका-६ का २० वर्षीय अभिषेक कुमार साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ४५.१९० ग्राम खैरो हेरोइन, बा.प्र. ०२-०४६ प ४८५३ नम्बरको मोटरसाइकल र एक थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीमा बुझाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको