जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामसहित देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएको छ। डिलरहरूले ‘ग्यास छैन, नाम टिपाएर जानुस्’ भन्दै उपभोक्तालाई फर्काउन थालेपछि सर्वसाधारण खाली सिलिन्डर बोकेर डिलर-डिलर धाउन बाध्य भएका छन्।
जनकपुरका रामानन्द चोक, पिडारी चोक, थापा चोक, भानु चोक, मुरली चोक र पेठिया बजारलगायत क्षेत्रका अधिकांश डिलरमा ग्यास अभाव देखिएको छ। केही डिलर बन्द छन् भने सञ्चालनमा रहेका डिलरले ग्यास आएपछि सम्पर्क गर्ने भन्दै उपभोक्ताको नाम टिपिरहेका छन्।
व्यवसायीहरूका अनुसार समस्या ग्यास आयात घटेका कारण नभई वितरण प्रणालीमा आएको परिवर्तनका कारण उत्पन्न भएको हो। यसअघि ७.१ किलो ग्यास भरिएका सिलिन्डर वितरण हुँदै आएकोमा सरकारले पुनः १४.२ किलो भरिएको सिलिन्डर वितरण सुरु गरेपछि लामो समयदेखि थन्किएका हजारौँ खाली सिलिन्डर एकैपटक रिफिलका लागि बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको उनीहरूको भनाइ छ।
व्यवसायीहरूले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्न थालेकाले आपूर्ति प्रणालीमा थप दबाब परेको बताएका छन्।
नेपाल एलपी ग्यास उद्योग संघले पनि नीतिगत परिवर्तनपछि बजारमा एक्कासि दबाब बढेको जनाएको छ। संघका अनुसार ग्यासको आयात नियमित छ र सामान्य अवस्थाभन्दा ५ देखि ७ प्रतिशत बढी आपूर्ति भइरहेको भए पनि एकैपटक बढेको मागका कारण सबै उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन कठिन भएको हो।
यता नेपाल आयल निगमले भने देशभर ग्यास अभाव नभएको दाबी गरेको छ। निगमका अनुसार केही स्थानमा मात्र अस्थायी चाप देखिएको हो। माग व्यवस्थापनका लागि दैनिक ग्यास आपूर्ति र बुलेटको संख्या बढाइएको तथा कालोबजारी भएको प्रमाण हालसम्म नपाइएको निगमको भनाइ छ।
निगमले वृद्धवृद्धा, विद्यार्थी, बिरामी र सुत्केरीलाई प्राथमिकताका आधारमा ग्यास वितरण गर्न डिलरहरूलाई निर्देशन दिएको जनाएको छ।
ग्यास आयात नियमित रहे पनि वितरण नीतिमा आएको परिवर्तन, बजार व्यवस्थापनको कमजोरी र उपभोक्तामा बढेको भण्डारण प्रवृत्तिका कारण जनकपुरदेखि काठमाडौंसम्म एलपी ग्यासको आपूर्तिमा असहज अवस्था सिर्जना भएको देखिएको छ।









