धार्मिक सद्भाव कायम राख्न अधयनपुरमा हिन्दु-मुस्लिम समुदायको साझा प्रतिबद्धता


महोत्तरी। महोत्तरीको बलवा नगरपालिका-९ अधयनपुरमा स्थानीय हिन्दु-मुस्लिम समुदाय, बुद्धिजीवी तथा युवाहरूको संयुक्त बैठकले धार्मिक सद्भाव, सामाजिक एकता र आपसी भाइचारा सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

समाजमा धार्मिक तथा साम्प्रदायिक असमझदारी फैलिन नदिन आयोजित बैठकले कुनै पनि अफवाह, भ्रम वा भ्रामक सूचनाको पछि नलाग्ने तथा कुनै विवाद उत्पन्न भएमा संवादमार्फत सत्यतथ्य बुझेर समाधान खोज्ने निर्णय गरेको हो।

बैठकले हिन्दु र मुस्लिम समुदायका धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा परस्पर सम्मान, सहयोग र सहकार्यको वातावरण निर्माण गर्ने निर्णयसमेत गरेको छ। साथै, धार्मिक सद्भाव बिथोल्ने गतिविधिविरुद्ध स्थानीयस्तरमै सचेतना फैलाउने र युवाहरूलाई सामाजिक एकता तथा शान्तिको पक्षमा सक्रिय बनाउने विषयमा पनि सहमति भएको जनाइएको छ।

बैठकमा वडा नं. ९ का अध्यक्ष सनाउल्लाह शेख, अलाउद्दीन राईन, फारूक शेख, मोतिफुल शेख, भरत ठाकुर, सुरेन्द्र लुहार, उदय झा, नियामक शेखलगायत स्थानीय बुद्धिजीवी तथा युवाहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले धर्म, जात र विचार फरक भए पनि मानवता, सामाजिक सद्भाव र शान्ति सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कुनै पनि विवादलाई साम्प्रदायिक रूप दिनुभन्दा संवाद, सहकार्य र आपसी समझदारीमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

स्थानीय अगुवाहरूले अधयनपुरमा कायम रहेको हिन्दु–मुस्लिमबीचको आपसी विश्वास, भाइचारा र सद्भावलाई आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै समुदायलाई शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न अपिल गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको