कालापानी विवादमा वार्ताको सकारात्मक परिणाम, बीपी राजमार्ग खुल्यो


महोत्तरी। बर्दिबास नगरपालिका-३, कालापानीमा स्थानीयले अवरुद्ध गरेको बीपी राजमार्ग शनिबार स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखिक सहमति भएपछि सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार बिहानदेखि अवरुद्ध राजमार्ग वार्तापछि खुलेको हो।

राजमार्ग खुलाउन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगर घटनास्थल पुगेर आन्दोलनरत स्थानीयसँग छलफल गरेका थिए।

प्रमुख जिल्ला अधिकारी यादवले लिखित सहमति गर्ने अवस्था नरहेकाले कानुनबमोजिम आवश्यक समन्वय गर्ने मौखिक सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरी सडक सञ्चालनमा ल्याएको बताए।

स्थानीयले गत जेठ ११ गते कालापानीमा भएको घटनामा डिभिजन वन कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिएको तथा सरकारी गाडीमा आगजनी गरेको आरोपमा चार जनाविरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै शनिबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध गरेका थिए।

उक्त दिन वन अतिक्रमण हटाउने सूचना दिन पुगेका डिभिजन वन कार्यालयका कर्मचारीलाई स्थानीयले रातिसम्म नियन्त्रणमा राखेका थिए। सोही क्रममा डिभिजन वन कार्यालयको बा.२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनी गरिएको थियो।

स्थानीयका अनुसार त्यतिबेला घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने, घाइतेहरूको उपचार राज्यले गर्ने तथा कसैमाथि मुद्दा नचलाउने सहमति भएको थियो। तर, त्यसपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीय पुनः आन्दोलनमा उत्रिएका हुन्।

यसअघि कालापानीमा बसेको सर्वदलीय बैठकले तीन दिनभित्र मुद्दा फिर्ता लिन स्थानीय प्रशासनलाई अल्टिमेटम दिएको थियो। निर्धारित समयभित्र माग पूरा नभएपछि स्थानीय सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले शनिबार बिहानदेखि राजमार्ग अवरुद्ध गरेका थिए।

सडक अवरुद्धका कारण बर्दिबास हुँदै काठमाडौंतर्फ जाने तथा आउने सवारीसाधन केही समय ठप्प हुँदा यात्रुहरू पनि प्रभावित भएका थिए। वार्तापछि राजमार्ग सञ्चालनमा आएसँगै यातायात सेवा पुनः सुचारु भएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको